दुहबी/सुनसरीको दुहबी ५ स्थित रहेको श्री सरस्वती माध्यमिक विद्यालयको ६६ औं वार्षिकोत्सवको अवसरमा यसै विद्यालयका २०४५ सालका एस.एल.सी. ब्याचका पूर्व विद्यार्थीहरुद्वारा स्थापित छात्रवृत्ति अक्षयकोषबाट कक्षा १० अध्ययनरत गरीब तथा जेहेन्दार एक छात्र र एक छात्रालाई जनही ५/५ हजारको दरले छात्रवृत्ति प्रदान गरिएको छ । यसै अवसरमा शैक्षिक योगदान गरे वापत सो समूहलाई विद्यालयले सम्मान समेत गरेको छ ।
विद्यालयको ६६ वर्षे इतिहासमा सो समूहले सर्वप्रथम रु १ लाखको छात्रवृत्ति अक्षयकोष स्थापना गरेका हुन् । आफूले ज्ञानको पहिलो ज्योति पाएको विद्या मन्दिर प्रति कर्तव्यवोध गर्दै र विद्यालयमा अध्ययन गर्ने गरीब तथा जेहेन्दार विद्यार्थीहरुको शिक्षा–दीक्षामा केही योगदान पु¥याउने उद्देश्यले केही सहपाठीहरु मिलेर यो कोष स्थापना गरिएको छात्रवृति कोष समितिका सचिव तथा सोही समूहका पूर्व विद्यार्थी दिपेन्द्र खतिवडाले बताए । शुरुमा यस कोषलाई बृहत बनाउने र अधिकाँश पूर्व विद्यार्थीहरु समेट्ने सोच भएतापनि तत्काल संभव नभएपछि २०४५ समूहले यसको शुरुवात् गरेको कुरा छात्रवृत्ति कोष समितिका सल्लाहकार तथा यसै विद्यालयका पूर्व विद्यार्थी एवं पूर्व शिक्षक जीवन थापा बताउछन।
कोष समितिले संपूर्ण पूर्व विद्यार्थीहरुले स्वामित्व ग्रहण गर्दै कोषमा सकेको योगदान गर्न, यस पुनित अभियानमा प्रत्यक्ष सहभागी बनेर आफू अध्ययन गरेको विद्यालयको श्रीवृद्धिमा चासो राख्न समेत आव्हान गरेका हुँन । सामुदायिक विद्यालयको खस्कँदो शैक्षिक गुणस्तर २१औं शताब्दी अनुकूल प्रतिष्पर्धी शैक्षिक कार्यक्रम संचालन नहुनु र अभिभावहरुको संस्थागत विद्यालयमा आफ्ना छोराछोरी पढाउने चाहना र हुट्हुटीले सामुदायिक विद्यालय केवल शुल्क तिर्न नसक्ने परिवारका बालबालिकाहरु मात्रै अध्ययन गर्ने थलो भएको छ । राज्यको माध्यमिक तहसम्म निःशुल्क पढाउने नीति तथा कार्यक्रम भएतापनि गरीबी लगायत विविध कारणले सामुदायिक विद्यालयमा विद्यार्थी टिकाउन कठीन छ ।
विपन्न समुदायका जेहेन्दार विद्यार्थीहरुलाई अध्ययनलाई निरन्तरता दिलाउन यस्ता छात्रवृत्तिहरुले ठूलो टेवा पु¥याउँछ । नमूना विद्यालयको हैसियत पाएको यस विद्यालयको भौतिक अवस्था र स्वरुप निकै फेरिएको छ । नमूना विद्यालयको रुपमा शैक्षिक गुणस्तर वृद्धि गर्न धेरै नीतिगत र कार्यक्रमगत कार्यहरु गर्न बाँकी रहेकोले आगामी दिनमा शैक्षिक गुणस्तर र नतिजाको हिसाबले पनि विद्यालयले नमूना विद्यालयको परिचय स्थापित गर्न निकै कसरत गर्नूपर्ने देखिन्छ।