दुहबी/ मनमोहन प्राविधिक विश्वविद्यालयले शैक्षिक कार्यक्रममा स्नातक तहको भर्ना आह्वान गरेको छ । मोरङको बुढीगंगा वडा नम्वर ४ मा रहेको मनमोहन प्राविधिक विश्वविद्यालयले उद्धमी जनशक्ति उत्पादन गर्ने योजना अनुसार रोजगारमूलक शैक्षिक कोर्षकालागि इन्जिनियरतर्फ बी.ई.ईन सिभिल र बी.ई.ईन इलेक्ट्रीकल एण्ड इलेक्ट्रोनिक्स इन्जिनियरिङका कार्यक्रममा भर्ना आह्वान गरेको हो ।
समृद्धिकालागि आत्मनिर्भरता हुँन आवश्यक रहेको जनाउँदै मनमोहन विश्वविद्यालयका उपकुलपति डा.सुभाषश्री पोखरेलले उत्पादनमूलक अर्थतन्त्र उन्मुख हुन विश्वविद्यालयले स्कुल अफ इन्जिनियरिङतर्फ स्नातक तहका कक्षाहरुमा भर्ना आह्वान गरिएको जनाए । पोखरेलका अनुसार यस शैक्षिक वर्षका लागि बी.ई.ईन.सिभिल इन्जिनियरिङमा ४८ जना र बी.ई.ईन इलेक्ट्रीकल एण्ड इलेक्ट्रोनिक्स इन्जिनियरिङतर्फ २४ जनाको भर्ना आह्वान गरिएको छ ।
नेपालका उद्योगमा आवश्यक पर्ने प्राविधिक जनशक्ति भारतबाट आयात गर्नुपर्ने अवस्था अन्त्य गर्ने उद्देश्यले नेपालमै औद्योगिक जनशक्ति समेत उत्पादन गर्ने पोखरेलले जनाए । विश्वविद्यालयको शैक्षिक कार्यक्रम बारे बिहीबार गरिएको पत्रकार सम्मेलनमा विश्वविद्यालय अन्तर्गतका तीनवटै स्कुल सञ्चालनमा आएपछि आगामी दशवर्षमा स्नातक, स्नातकोत्तर र विद्यावारिधीतर्फ २८ वटा शैक्षिक विषयमा दुई हजार ८३१ विद्यार्थी लाभान्वित हुने लक्ष्य राखिएको उपकुलपति पोखरेलले जनाए ।
स्कुल अफ इन्जिनियरिङ तर्फ स्नातक र स्नातकोत्तरका सम्पूर्ण कोर्षहरु पठनपाठन गराउने र हेल्थ साईन्सेस तर्फ बिएएमएलटी, फार्मेसी, पब्लिक हेल्थ र अप्टोमेट्री लगायतका बिषयको पठनपाठन समेत सुरु गर्ने योजना रहेको जनाउँदै
विश्वविद्यालयले तयार पारेको १० वर्षे कार्ययोजना बमोजिम आउँदा बर्षहरुमा मनमोहन प्राविधिक विश्वविद्यालयबाट विद्यावारिधी सम्मको पठनपाठन गराउने लक्ष्य राखिएको छ।