दुहबी/ सुनसरीको दुहबी स्थित कोशी राजमार्ग सडक खण्ड ६२७ मिटर बिल्ड अप एरिया बाहेक बुढी खोला देखि ढकाल चौक सम्म र दुहबी – इनरुवा सडकको चौक देखि उत्तर ६ लेन सडक सम्म मर्मत सम्भार ठेक्का पाएको साह कन्स्ट्रक्सनले ठेक्का पाएको १ महिना बितिसक्दा पनि काम नथाल्दा पैदल यात्री तथा सवारी साधन हरु जाममा फस्दा सास्ती बढ्दै गएको छ।
सडक बिचमा खाल्डा खुल्डी बनेर सडक जिर्ण हुँदै गएकोले उक्त मार्ग भएर हिड्ने पैदल यात्री, सवारी साधन र स्थानिय बासिन्दा धुलो र ट्राफिक जामको मारमा परिरहेका छन । रानी – बिराटनगर – दुहबी -इटहरी सडक बिस्तार आयोजनाले दुहबीको मुख्य बजार बाहेक ६ लेन सडक बिस्तार गरिरहेको भनेपनी दुहबिमा बिल्डअप एरिया बिबादले बिस्तारको काम भएको छैन। साघुरो सडक र थेग्नै नसक्ने गरि बढ्दै गएको सवारी चापको कारण दैनिक आवत जावत गर्न कठिनाइ हुँदै आएको छ। सडकमा खाल्डा खुल्डी भएको कारण सो क्षेत्रमा ३ जनाले दुर्घटनामा ज्यान समेत गुमाइसकेका छन।
यस विषयमा दुहबी नगर प्रमुख बेदनारायण गच्छदार संग बुझ्दा आफुले बिल्ड अफ एरिया बाहेक दुहबीको सडक मर्मत गर्न पटक-पटक सडक डिभिजन कार्यलय धाएर तत्कालका लागि सडक मर्मत गर्न अनुरोध गरेपछी सडक बिभागले गत महिना नै ठेक्का निकाली सकेको भएपनि फेरि ठेकेदारले काम आलटाल गर्दा आफू चिन्तित रहेको बताए।
उनले ठेकेदार लाई पटक-पटक फोन गरि ताकेता गरेपनी अहिलेसम्म काम सुरु नभएको बताए।
सो विषयमा साह कन्स्ट्रक्सनका ठेकेदार जय प्रकाश साह संग बुझ्दा कामदार नभेटिएको,तेलको भाउ बढ्दै गएको अनौठो तर्क गर्दै काममा ढिला सुस्ती हुन गएको स्विकार्दै चाडैं काम थाल्ने बताए।