दुहबी / लामो समयदेखि पत्रकारिताको क्षेत्रमा क्रियाशील रहेका दुई जना पत्रकारहरुलाई श्रीजनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेडले सम्मान सहित पुरस्कृत गरेको छ । जनकल्याण सहकारीको २१ औं वार्षिक साधारणसभाको अवसरमा लामो समयदेखि पत्रकारीता क्षेत्रमा रहेर पत्रकारीताको क्षेत्रमा दिएको योगदानको उच्च मुल्यांकनको साथ सम्मान गर्दै दुई जनालाई पुरस्कृत गरिएको हो । सो अवसरमा पुरस्कृतको रुपमा सेयर किता सहित पत्रकार प्रेम गिरि र पत्रकार अकबर अलि लाई सम्मान गरेका हुन । त्यसैगरी कोचिला एफका पत्रकार सन्जय चौधरी पनि समानीत भएका थिए ।
२२ वर्षअघि दुहवीका २५ जना शेयर सदस्यहरुबाट स्थापना भएको श्रीजनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेड दुहबीको शेयर सदस्य संख्या २२ औं वर्षमा लाग्दा ११ सय ८६ महिला र १३ सय ३२ पुरुष गरि २ हजार ५ सय १८ सम्म पुगेको छ । दुहवी ५ स्थित रहेको संस्थाको भवन परिसरमा शुक्रवार आयोजित २१ औं साधारणसभामा प्रस्तुत प्रतिवेदन अनुसार सहकारीमा निक्षेप संकलन १९ करोड ९४ लाख ८६ हजार रुपैया सम्म पुगेको छ ।
यस अवधिमा आर्थिक वर्ष २०७७/०७८ असार मसान्त सम्ममा २ करोड ३५ लाख १९ हजार फुनाफा आर्जन गरेको प्रतिवेदनमा उल्लेख छ । साधारणसभामा संस्थाका अध्यक्ष मिलिराम चौधरीले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै यस अवधिमा सहकारीप्रति बढ्दो विश्वासनियताको फलस्वरुप निक्षेपकर्ता पनि बढ्दो रहेको बताउँदै यस सहकारीको संस्थागत आर्थिक र सामाजिक रुपमा पनि सशक्त र सबल रुपमा उभिएको
बताए । सहकारीले निम्न आय भएका वर्ग, समुदायलाई आर्थिक रुपमा सवल बनाउन उत्पादन मूलक र व्यापारिक क्षेत्रमा ऋण प्रवाह गरेको अध्यक्ष चौधरीले बताए ।
संस्थाले लघुवित्त कर्याक्रम अन्तर्गत विना धितो महिला समुहहरुलाइ २ लाख सम्म ऋण, एम्बुलेन्स सेवा, रेमिटेन्स सेवा, रक्तदान कार्यक्रममा निशुल्करुपमा रगत सिफारिस गर्दै आएको छ । संस्थाको २१ औं साधारण सभाका प्रमुख अतिथि सुनसरी जिल्ला बचत तथा ऋण सहकारी संघ लि.का अध्यक्ष शिवराज श्रेष्ठ, बिशिष्ठ अतिथि नेफस्कुन प्रदेश नम्वर १ का अधिकृत मुकेश दाहाल लगायतका अतिथि वक्ताले शुभकामना मन्तव्य दिदैं जनकल्याण स्थापना यता निरन्तर सफल सहकारीको रुपमा अघि बढेको बताएका थिए ।
सोही अवसरमा १ नम्बर प्रदेशबाट उत्कृष्ट ब्यवस्थापकिय राष्ट्रिय पुरस्कार प्राप्त गर्ने श्रीजनकल्याण बचत तथा ऋण सहकारी संस्थालाई विशेष योगदान पुर्याउने संस्थाका ब्यवस्थापक मनोज कुमार सुतियारलाइ पुरस्कार तथा प्रशंसा पत्र प्रदान गरिएको थियो । कार्यक्रममा संस्थाका उत्कृष्ट कर्मचारीहरु गुजेश्वरी चौधरी र चन्द्रलेखा चौधरीलाई प्रोत्साहन पुरस्कार तथा प्रशंसा पत्र प्रदान गरिएको थियो । साथै असल ऋणि र असल बचतकर्ता तथा महिला समुहहरुलाइ समेत पुरस्कार सहित प्रशंसा पत्र प्रदान गरिएको थियो । कार्यक्रममा स्वागत मन्तब्य संस्थाका उपाध्यक्ष भूपनारायण भगतले दिएका थिए भने कार्यक्रम सञ्चालन संस्थाका सचिव प्रभाकर माझीले गरेका थिए ।