दुहबी/सुनसरीको दुहबीमा चार ठुला अस्पताल बन्ने तयारी भइरहेको छ। दुहबी नगरपालिकाको स्वामित्वमा रहेको दुहबी ८ मा स्थापित दुहबी नगर अस्पताल हाललाई अस्थायीरूपमा संचालनमा ल्याइएपनी २५ करोडको लागतमा बिपन्न नागरिकलाई स्वास्थ्य सेवा प्रदान गर्ने उदेश्यले १५ शैय्याको दुहबी नगर अस्पताल अत्याधुनिक उपकरण सहित सञ्चालनमा ल्याइने तयारी नगरपालिकाले गरेको छ।
दुहबी नगर अस्पतालमा नेपाल सरकारको स्वास्थ्य बिमा समेत लागू भएकोले दुहबीका बिपन्न नागरिकहरुकालागि स्वास्थ्य बिमामा पहुँच पुर्याउनकालागि दुहबी नगरपालिकाले ६० लाख छुट्टयाएकोले प्रती परिवार २ हजार देखि २५ सय नगरपालिकाले तिरी दिने जनाइएको छ।
यसैगरी दुहबी ३ मा संचालनमा रहेको सुनसरी सामुदायिक हस्पिटल हाल १५ बेडको भएपनि ५० बेडमा स्तरोन्नति गरिएकोले भवन निर्माणको काम भइरहेको नवीनतम प्रविधि र मेडिकल उपकरणले सुसज्जित हुने बताइएको छ ।
यसैगरी दुहबी ५ स्थित बर्सौदेखी बन्द अवस्थामा रहेको श्रीलुनकरणदास–गंगादेवी चौधरी च्यारिटी अस्पताललाई स्तरोन्नति गरी पुनः सञ्चालनमा ल्याइने भएको छ ।
काठमाडौंको थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटल र बसन्त चौधरी फाउण्डेसनले संयुक्त रुपमा लगानी गरी निर्माण गर्ने भनिएको सो अस्पताललाई स्तरोन्नति गर्दै पुनः सञ्चालनमा ल्याउने तयारी गरिएको बताइएको छ।
बन्द हुनु अघिसम्म १५ श्यया रहेको सो अस्पतालको स्तरोन्नति गरी ५० श्ययामा स्तरोन्नति गर्ने बताइएको छ । अस्पतालको सम्पूर्ण प्राविधिक पक्ष नर्भिकले हेर्ने र आर्थिक सहयोग बसन्त चौधरी फाउण्डेसनले जुटाउने बताइएको छ।
आगामी वैशाख १ गते नर्भिक अस्पतालको स्थापना दिवसको अवसर पारेर सो च्यारिटी अस्पतालको सम्पूर्ण सेवाको सुरुवात गर्ने तयारी भइरहेको जनाइएको छ । चौधरीका पितामाताको नाममा स्थापित सो अस्पतालको शिलान्यास २०५२ सालमा तत्कालीन युबराज दिपेन्द्र शाहले गरेका थिए।
तत्कालीन दुहबी गाविसले दुहबीका नागरिकलाई स्वास्थ्य सेवा सहज होस भनेर च्यारिटी अस्पताल चलाउनका लागि १० कठ्ठा जग्गा उपलब्ध गराएर दुहबीमा सो अस्पताल केही समय संचालनमा आएपनी बर्सौदेखि लथालिङ्ग अवस्थामा रहेको छ।
सयौं उद्योग रहेको दुहबीमा औद्योगिक दुर्घटना हुँदा वा उद्योगमा काम गर्ने मजदूर वा श्रमिक अचानक बिरामी पर्दा उपचार गर्न विराटनगर नै पुग्नुपर्ने बाध्यता अन्त्य गर्ने उदेश्यले त्यसबेला च्यारिटी अस्पताल स्थापना गरिएपनि च्यारिटी अस्पताल चलाउदा आर्थिक लाभ न हुने देखिएकोले बर्सौंदेखी अस्पताल बन्द गरेको हुन सक्ने स्थानीयहरुको आशंका छ।
नर्भिक इन्टरनेशनल हस्पिटलले यसै वर्षदेखि सुनसरीको दुहबीमै १०० श्ययाको अत्याधुनिक छुट्टै अस्पतालनको निर्माण कार्य समेत शुरू गर्ने यसअघि नै घोषणा गरिसकेको छ।