इनरुवा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) इनरुवा नगर कमिटीले अहिलेसम्मका भएका खर्च विवरण सार्वजनिक गर्न नगरपालिकाको कार्यालयलाई ७ दिने समय सीमा दिएको छ ।
बिहीबार पत्रकार सम्मेलन गरेर सो पार्टीले नगरपालिकाले अहिलेसम्म सार्वजनिक सुनवाई नगरेको स्थितिमा स्थानीय तह निर्वाचन पछिका सबै खर्च विवरण सार्वजनिक गर्न समय सीमा दिएको हो ।
सो पार्टीले जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘नगरपालिकामा ब्यापक अनियमितता बढेको भनि बाहिरिएको विषयप्रति गम्भिर ध्यानाकर्षण भएको छ । विगतका वर्षदेखि नै नगरभित्रको अनियमितता छानबिन हुनुपर्ने आफुहरुको आवाज रहँदै आएको सन्दर्भमा उप प्रमुखले समेत उक्त आशयको अभिव्यक्ति सार्वजनिक गर्नुले अनियमितता पुष्टि गरेको छ । त्यसैले सम्पूर्ण हिसाब किताब ७ दिनभित्र सार्वजनिक गरियोस ।’
आगाडि भनिएको छ, ‘ इनरुवा नगरपालिकाको सर्वोच्च निकाय नगरसभाबाट जनप्रतिनिधिहरुले पारित गरेका वार्षिक नीति कार्यक्रम तथा बजेट वर्तमान नगरपालिकाको नेतृत्वले नगरसभा सम्पन्न भएको छ दिनसम्म इनरुवावासीहरुको सामु सार्वजनिक नर्गनुले नगरपालिका अपारदर्शी छ भन्ने स्पष्ट
हुन्छ ।’
नगर कमिटी अध्यक्ष तिर्थ अधिकारी र सचिव तोया गिरीद्वारा हस्ताक्षरित विज्ञप्तीमा जनप्रतिनिधिहरुले जिम्मेबारी सम्हाले यताका सबै नीति, कार्यक्रम र योजनाको खर्च विवरण सार्वजनिक गर्नुपर्ने माग गरिएको छ ।
आफुहरुको माग बेवास्ता गरिए नगरवासीको साथमा नगरपालिकाविरुद्ध चरणवद्ध आन्दोलनमा उत्रिन बाध्य हुने अध्यक्ष अधिकारीले बताए ।
पत्रकार सम्मेलनमा नगरपालिकाबाट हुँदै आएका अधिकांश कामहरु नियमबिरुद्ध संचालित हुँदै आएको आरोप लगाइएको छ । कर्मचारी पदपूर्ति सम्वन्धमा समेत पत्रकार सम्मेलनमा असन्तुष्टि जनाइको छ । वर्णमाला अनलाईनबाट साभार