मोरङको बुढीगंगा गाउँपालिका–५ का एक पुरुषको परिवारले अन्तिम संस्कार गरिसकेपछि उनमा कोरोना कोरोना पोजेटिभ रहेको पुष्टि भएको छ ।
बुढीगंगा २ स्थित विराट टिचिङ्ग हस्पिटलमा उपचारको क्रममा शुक्रबार राति मृत्यु भएका ४५ वर्षीय पुरुषमा कोरोना देखिएको हो ।
स्वासप्रश्वासमा समस्या भएपछि उनलाई शुक्रबार विहान ४ बजे विराट टिचिङ्ग हस्पिटलमा भर्ना गरिएको थियो । अस्पतालमा उनमा निमोनियासमेत देखिएको थियो । विरामीको स्वास्थ्य अवस्था गम्भिर बन्दै गएपछि अस्पतालको आइसीयूमा राखेर उपचारको क्रममा मृत्यु भएको विराट टिचिङ्ग हस्पिटलको कोभिडका फोकल पर्सन डा.पुरु कोइरालाले जानकारी दिनुभयो ।
विराटमा उपचारको क्रममा स्वाब संकलन गरेर परीक्षणको लागि प्रदेश प्रयोगशालामा पठाइएको थियो । तर, परीक्षणको रिपोर्ट नआउँदै शनिबार विहान १० बजे अस्पतालले आफन्तलाई शव जिम्मा लगाएपछि उनीहरुले बुढीखोलामा लगेर अन्तिम संस्कार गरे । मृतकको अन्तिम संस्कार गरेको केही घण्टापछि शनिबार दिउँसो १ः४५ ती पुरूषको कोरोना पोजेटिभ रहेको रिपोर्ट प्रदेश प्रयोगशालाले दिएको डा. कोइरालाले बताउनुभयो ।
कोरोना संक्रमण पुष्टि भएका मृतकका दाहसंस्कारमा करिब ३ दर्जन बढि मलामी गएको स्थानीय कपिल सुनारले जानकारी दिनुभयो । कोरोनाको स्वाब दिएको अवस्थामा कसैको मृत्यु भएमा रिपोर्ट नआएसम्म शव आफन्तलाई दिन नपाइने प्राबधान छ । कोरोना पोजेटिभ भएकाहरुको शव सुरक्षित रुपमा नेपाली सेनाको टोलीले व्यवस्थापन गर्दै आएको छ ।
तर, अस्पतालको लापर्वाहीले मृतकको स्वाब परीक्षणको रिपोर्ट नआउँदै परिवारले शव लिएर आफैं अन्तिम संस्कार गरेका
हुन् । ती पुरुषमा कोरोना पोजेटिभ रहेको पुष्टि भएसँगै बुढीगंगा गाउँपालिकाले मलामी गएकाहरूको कन्ट्याक टे«सिङ गरि सबैको पिसिआर परीक्षण गर्ने तयारी गरेको जनाएको
छ। स्रोत:हाम्रोमत