कोरोना भाइरस संक्रमण तीव्र रुपमा फैलिएपछि सुनसरीको दुहबी नगरपालिकाको ६ नम्बर वडा थप ४ दिनकालागि भदौ ३ गते सम्म सिल गरिएको छ । यसअघि आज राती १२ बजे सम्मकालागी ३ दिन सिल गरिएको थियो ।
दुहबी नगरपालिका वडा ६ को आसपास क्षेत्रमा कोरोना संक्रमण व्यापाक भएपछि वडाले सवारी साधन र मानिसको आवतजावतलाई पूर्ण रुपमा रोक लगाएको हो ।
सो वडामा शुक्रबार ८ जना सहित १७ जनामा कोरोना संक्रमित देखा परेपछि अरु ४ दिन सिल गर्नु परेको दुहबी ६ का वडा अध्यक्ष मुना हलुवाईले बताए ।
सो सिल गरेको क्षेत्रमा आवत–जावतमा पूर्ण रुपमा प्रतिबन्ध लगाएर सबै सडकमा ढाट लगाएको छ ।
दुहबी नगरपालिकामा शुक्रबार सम्म ३६ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ ।