एक नम्बर प्रदेशमा कोरोना संक्रमितकालागि बेड अभाव भएको छ। ३-४ दिन सम्म पिसिआर रिपोर्ट न आउँदा स्वाब दिएकाहरु समुदायमा घुलमिल हुदा उच्च जोखिम समेत बढेको छ। प्रदेश १ मा अहिले जिल्ला अस्पतालहरुकोसमेत गरी ३ सय ५० हाराहारी आइसोलेसन बेडहरु सञ्चालनमा छन् । जबकी प्रदेशमा शनिबारसम्म सक्रिय संक्रमितको संख्या भने ४६० छ ।
त्यस आधारमा ११० भन्दा धेरै संक्रमित अहिले अस्तालबाहिरै घरमा बस्न बाध्य छन् । दिनहुँ संक्रमितको संख्या थपिदै गएको सन्दर्भमा अस्पतालहरुमा आइसोलेसन बेडको अभाव भएको हो । प्रदेश १ मा शनिबारसम्म १३७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये ९०८ जना उपचारपछि निको भएका छन् भने ५ जनाको मृत्यु भएको छ ।
अहिले प्रदेश सरकारले स्थापना गरेको कोसी कोभिड १९ अस्पताल विराटनगरमा ६० शैय्या, कोसी अस्पतालमा १० शैय्या, विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा १००, पूर्वाञ्चल विश्वविद्यालय गोठगाउँमा १२५ र मेची अस्पताल झापामा २५ शैय्याको आइसोलेसन सञ्चालन भइरहेको छ ।
मोरङमा ४८ जनासहित शनिबार प्रदेश १ मा ६१ जना कोरोना संक्रमित थपिएका छन् । सामाजिक विकास मन्त्रालयले दिएको जानकारी अनुसार ४७ जना पुरूष र १४ जना महिलासहित प्रदेश १ मा शनिबार ६१ जना संक्रमित थपिएका हुन् । विराटनगर महानगरपालिकाभित्र मात्र शनिबार ३३ जना नयाँ संक्रमित थपिएका छन् । संक्रमितमध्ये २६ पुरूष र ७ महिला रहेका छन् ।
यसैगरी मोरङको बुढीगंगा गाउँपालिकाभित्र रहेको आरती स्ट्रिप्स् इण्डस्ट्रिज प्रा.लि.मा कार्यरत थप १२ जना कोरोना संक्रमण देखिएको छ । प्रदेश जनस्वास्थ्य प्रयोगशाला ल्याबमा गरिएको प्ररीक्षणमा शनिबार कर्मचारी र मजदुरहरूमा कोरोना संक्रमण देखिएको हो ।
यसैगरि मोरङको धनपालथान, कटहरी र उर्लाबारीमा १-१ जनामा कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । उता सुनसरीमा १० जनामा संक्रमण पुष्टि भएको छ । सुनसरीको धरानमा २ पुरूष र २ महिला, दुहबीमा ३ पुरुष र १ महिलामा संक्रमण देखिएको छ भने इनरुवामा २ पुरुषमा संक्रमण पुष्टि भएको छ ।